फाइल तस्वीर
काठमाडौं – स्थानीय निर्वाचनको परिणामबाट हौसिएर नेपाली काङ्ग्रेस अहङ्कारी बन्ने हो कि भन्ने विश्लेषण हुन थालेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा पाएको सफलतासँगै नेपाली काङ्ग्रेस अहङ्कारी हुने हो कि भन्ने चिन्ता व्यक्त गर्नु भएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार भै जनप्रतिनिधिका रुपमा निर्वाचित देशभरका १२२ स्थानीय तहको प्रमुख तथा १२८ उपप्रमुखमा निर्वाचित कार्यकर्तालाई अभिमुखीकरण कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले आफूहरु गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको भन्दै २०७४ को चुनावपछि एमालेले झै काङ्ग्रेसले पनि दम्भ र अहङ्कार देखाए विद्रोह गर्नुको विकल्प नहुने खुलासा गर्नुभएको छ । यद्यपि आफू अहिले पनि गठबन्धन कायम राख्ने पक्षमा रहेको उनले पटकपटक दोहो¥याए । हिजो एमालेको जस्तो अहङ्कार काङग्रेसमा नआओस् भन्ने मात्र चाहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘अहङ्कार र दम्भ आयो भने फेरि विद्रोह गर्ने हो ।’

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रति जनताको भरोसा र विश्वास रहेको भन्दै पार्टी सच्चियोस् भन्ने सन्देशका साथ तेस्रो शक्ति बनाएर राष्ट्रिय राजनीतिको चाबी माओवादीकै हातमा राखिदिएको दावी गर्नुभएको छ ।माओवादीले कहिले एमालेको त कहिले काङग्रेसको दम्भ बढाइदिने गरेको आरोप समेत लाग्ने गरेको भन्दै ‘हाम्रा बाध्यता पनि छ, आवश्यकता पनि छ, कमीहरु पनि होलान्’– भन्नुभएको छ ।