फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभाको बजेटमाथिको आजको बैठकमा बोल्दै सांसदहरुले वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना खुलाउन सरकारको ध्यानाकर्षण गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्ज चिनी मिल र कृषि औजार कारखाना खुलाउन मागगर्दै ति उद्योगहरु खोलाउन सरकारलाई आफ्नो घर बेचेर भएपनि सहयोग गर्ने दावी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आगामी आव २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसद श्रीवास्तवले ती उद्योग सञ्चालनका लागि आफुले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद श्रीवास्तवले भने ‘यस वर्ष वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने मेरो नामको एउटा घर छ, त्यो घर या त सरकारको नाममा पास गर्छु, नभए घर बेचेरै भए पनि एक वा डेढ करोड जति हुन्छ, बेचेर व्यक्तिगत रुपमा सहयोग गर्न तयार छु ।’

सांसद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल खुलेमा बारा, पर्सा, रौतहटलगायत जिल्लाका हजारौँ मानिसलाई रोजगारी प्राप्त हुने र कृर्षि औजार कारखानाबाट मुलुकभरका किसानलाई कृषि औजार उपलब्ध हुने भएकाले छिटो सञ्चालन गर्न माग गरे । उनले बजेटमा कतिपय राम्रा कुरा रहे पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको पनि बताए छन् ।

सरकारले १० कुरामा आयात नगर्ने भन्ने निर्णय गरेको त छ, तर आत्मनिर्भर भएका बिस्कुट र साबुन जस्ता वस्तुमा आयात रोक्ने कुरामा ध्यान जान आवश्यक रहेको भन्दै आत्मनिर्भर रहेका वस्तुको आयात रोक्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।