फाइल तस्वीर
काठमाडौं– प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि सांसदहरुले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएको दावी गर्नुभयो । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागी हुँदै नेता पाण्डेले यस्ता धारणा व्यक्त गर्नुभएको हो । एमाले उपाध्यक्ष पाण्डेले ‘वृद्धभत्ता एमालेको ब्राण्डजस्तै हो । तपाईं उमेर ५८ होइन, ६८ पु¥याउनोस् । एमालेलाई नै ताली ठोक्छन्’– भन्नुभयो ।

यसैगरी नेता पाण्डेले मिर्गाैला पीडितलाई डायलासिस निःशुल्क गर्नुपर्ने व्यवस्था गर्नुपर्ने पनि बताउनु भएको छ । ‘क्यान्सर, मिर्गौला रोगीलाई पाँँच हजार दिन्छु भन्नु भएको छ । अहिले अस्पतालमा डायलासिस गर्ने मेसिन नै छैन । ६ महिना, एक वर्ष पालो कुर्नुपर्ने अवस्था छ । त्यो पाँच हजार लिनुअघि नै मृत्यु भइसक्छ । अहिले सम्पूर्णको डायलासिस निःशुल्क गर्छु र मेसिन पनि किन्छु भन्नुपथ्र्यो’ सांसद पाण्डेले भन्नुभयो ।

बजेटमाथिको छलफलमा भागलिंदै नेपाल माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले बजेट श्रेयको दौडमा दोडिने विषय नभएको धारणा व्यक्त गनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै बस्नेतले यस्तो धारणा राख्नु भएको हो ।

छलफलमा आफ्नो धारणा राख्ने बजेट कसले ल्याएको भनेर श्रेय लिनुभन्दा पनि समस्या कसरी समाधान गर्ने भन्ने दिशातर्फ उन्मुख हुनुपर्नेमा सांसद बस्नेतले जोड दिनु भयो । ‘कुनै बेला वृद्धभत्ता एक हजार रुपैयाँ थियो । त्यसले एउटा मार्गचित्र बनाएको थियो । अहिले व्यवस्थित बन्दैछ, वृद्धभत्ता बढ्दैछ ।

आफ्नो धारणा व्यक्तगर्दै सांसद बस्नेतले बजेट सबै क्षेत्र उत्साहित हुने गरी आएको पनि दावी समेत गर्नुभएको छ । बजेटले आवश्यकता, समस्या र सम्भावनालाई पहिचान गरेर अघि बढ्न खोजेको उहाँको तर्क थियो ।