काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेको बजेट सङ्कटभन्दा चुनाव केन्द्रित भएको टिप्पणी गर्नुभएको छ । आज बिहान ११ बजे बसेको संसद बैठकमा आर्थिक वर्ष २०७९–८० को बजेटमाथि भएको छलफलमा सहभागी हुँदै उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘देशको आर्थिक सङ्कट एकातिर छ, बजेट अर्कोतिर । बजेटमा चुनाव मात्रै देखियो ।’

एमाले उपाध्यक्ष पाण्डेले पाँच दलीय गठबन्धन छिट्टै चुनावमा जान लागेकाले बजेट चुनाव केन्द्रित ल्याएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘अब तुरुन्तै यो गठबन्धन चुनावमा जाँदैछ भन्ने सुनेको छु । त्यसैले होला बजेटमा चुनाव–चुनाव मात्रै देखियो ।’

उहाँले गठबन्धनबाट काङ्ग्रेसले मुक्त हुन खोजेको बताउँदै भन्नुभयो, ‘गठबन्धन काङ्ग्रेसलाई गलगाँडजस्तै भएको छ । उसलाई छिटोभन्दा छिटो चुनाव गरेर गलगाँड छुटाउन पाए हुन्थ्यो जस्तो भएको छ ।’