फाइल तस्वीर
काठमाडौं – काठमाडौंस्थित त्रिभूवन विमानस्थलबाट झापाको भद्रपुरको लागि उडेको बुद्ध एयरको जहाज गन्तव्यमा नपुग्दै काठमाडौं विमानस्थल फिर्ता भएको छ । जहाजमा प्राविधिक त्रुटी देखिएपछि जहाजलाई उडिरहेको अवस्थामा विचबाटै फर्काइएको हो ।

बुद्ध एयरको ९५३ उडान नम्बरको उक्त जहाजको पछिल्लो टायरको पार्टपुर्जा काठमाडौं विमानस्थलको धावनमार्गमा नै खसेको भेटिएपछि जहाजलाई काठमाडौं फिर्ता गरिएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन् ।

काठमाडौंबाट ३० नटिकल माइल उडेको उक्त विमानलाई काठमाडौं मै फर्किन भनेपछि विमानको सुरक्षित अवतरणका लागि केही समय विमानस्थल बन्द गरिएको थियो भने केही जहाजहरुलाई आकाशमा होल्ड गर्न लगाइएको थियो ।

बुद्ध एयरको उक्त विमानलाई सुरक्षित रुपमा त्रिभूवन विमानस्थलमा अवतरण गराइएको छ । उक्त विमानको प्राविधिक जाँच गर्ने काम सुरु भएको त्रिभुवन अन्तराष्ट्रिय विमान कार्यालयले जनाएको छ ।