फाइल तस्वीर
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी असोजमा महाधिवेशन गर्ने जनाएको छ । नेद्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गर्नुभएको पार्टीको उदयपुरमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी असोज १ गतेदेखि पार्टीको नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो ।

उक्त पार्टी भित्र वैचारिक, सैद्धान्तिक विचलन देखिएको भन्दै नेता धर्मेन्द्र बाँस्कोटा, हेमन्त प्रकाश ओलीलगायतले केही समय अघिमात्रै पार्टी विभाजन गरेर नेकपा (बहुमत) बनाएका थिए । त्यसपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक उदयपुरमा बसेको हो । उक्त बैठकले पार्टीको नवौं महाधिवेशन गर्ने निर्णय गरेको जनाएको छ ।

जेठ १२ देखि १७ गतेसम्म चलेको केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । यस्तै बैठकमा पार्टीको आगामी रणनीतिका विषयमा पनि गम्भीर छलफल भएको बताइएको छ । पार्टीको केन्द्रीय सदस्य ओम पुनले आगामी असोज १ गते पार्टीको नवौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न तयारी थाल्ने निर्णय समेत भएको बताएका छन् ।