फाइल तस्वीर
काठमाडौं – नेपालमा बढ्दो आन्तरिक हवाई दुर्घटनालाई दृष्टिगत गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सफा मौसम नभई आन्तरिक उडानका लागि जहाज उडाउन अनुमति नदिने निर्णय गरेको छ । तारा एयरलाइन्सको विमान दुर्घटना भएसँगै क्यानले आन्तरिक हवाई सेवामा उड्ने र पुग्ने स्थानको मौसम सफा नभएसँगै अबदेखि उडान अनुमति नदिने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार तारा एयरलाइन्सको विमान दुर्घटनालगत्तै क्यानले इनरुटको मौसम सफा नभए उडानको अनुमति नदिने निर्णय गरेको हो । इनरुट भन्नाले विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटोसमेतलाई जनाउँछ । ती सबै स्थानको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यसअघि विमान उड्ने र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा उडान अनुमति दिने गरिन्थ्यो । तारा एयरलाइन्सको विमान दुर्घटना छानविन समितिका संयोजक एवम् क्यानका प्रवक्ता कर्णले ‘अब हामीले इनरुट मौसम पनि सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरेका छौं’ भन्दै पहिले विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा हामीले उडान अनुमति दिने गरेका थियौं तर अब इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरेका छौं’ भन्नुहुन्छ ।

प्रवक्ता कर्णका अनुसार यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स)बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुनेछ । उड्डयन क्षेत्रमा भिएफआर भन्नाले आँखाले हेरेर र विमान उडाउने र ल्याण्ड गर्ने विधि भन्ने बुझिन्छ । तर आईएफआर (इन्स्ट्रुमेण्ट फ्ल्याइट रुल्स) विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु हुने छैन । प्राधिकरणको यो निर्णयले मौसमको कारण नेपालको आन्तरिक हवाई दुर्घटनामा कम गर्न मद्दत गर्ने प्रवक्ता कर्ण बताउनुहुन्छ ।