फाइल फोटो
काठमाडौं – आइतबार बिहान जोमसोमको लागि पोखराबाट उडेको तारा एयरलाइन्सको नाइन–एनएइटी विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा भएको जहाज दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाकै शव र जहाजको ‘ब्ल्याकबक्स’ भेटिएको छ । चालक दलका तीन सदस्यसहित १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको उक्त विमान दुर्घटना हँुदा २२ जना सबैको निधन भएको थियो ।

विमान दुर्घटना परी मृत्यु भएकामध्ये हिजो सोमबार १० जनाको शव काठमाडौं पठाइएको र बाँकी शवहरुलाई घटनास्थलबाट कोवाङमा झारिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनु भयो । दुर्घटनास्थलबाट जहाजको ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले जानकारी गराउनु भयो । कोबाङमा ल्याइएका बाँकाी१२ जनाको शवलाई पनि आजै नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौं पठाउने तयारी भैरहेको प्रजिअ शर्माले जानकारी गराउनु भयो ।

भौगोलिक रूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याएर काठमाडौं उठाउन लागिएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए । तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।