फाइल तस्वीर
काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० लागि सार्वजनिक गरेको बजेटमा आज मङ्गलबारदेखि प्रतिनिधिसभामा छलफल सुरु हुँदैछ । सरकारकार अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते सङ्घीय संसद पेश गर्नुभएको गरेको बजेटमाथि आजबाट छलफल प्रारम्भ हुन लागेको हो ।

बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु हुनेछ । अर्थमन्त्री शर्माले प्रस्ताव पेश गरेपछि सांसदहरुले बजेटमाथि आफ्नो धारणा राख्नु हुनेछ ।

सरकारले ल्याएको बजेटमाथि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी सरकारले बजेट ल्याएको भन्दै विरोध गरेको छ । यसले बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको निष्कर्ष निकालेको छ । संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले पाँच महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकी चुनावमुखी र मत माग्ने हिसाबले बजेट ल्याएको निष्कर्ष निकालेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा बजेटमाथि आजबाट हुने छलफलमा तर्कसङ्गत हिसाबले अध्ययनशील भएर गलत र अनुचित कुरालाई जनतामाझ लगेर भण्डाफोर गर्नेगरी प्रस्तुत हुन आफ्नो दलका सांसदहरुलाई निर्देशन दिनु भएको छ ।