काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरलाइन्सको विमान दुर्घटनाको छानविन गर्न आयोग गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इञ्जिनियर रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको हो ।

उक्त आयोगको सदस्यहरूमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने रहेको मन्त्रालयले जनाएको छ ।

आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटना भएको थियो । जहाजमा १९ यात्रु र ३ चालक दलका सदस्य गरी २२ जना यात्रु थिए । उनीहरु सबैका निधन भएको छ ।