फाइल तस्वीर

भक्तपुर– आज सोमबारदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरु भएको छ । देशका सबै ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा बिहान ८ बजेदेखि सञ्चालन गरिएको हो ।


राष्ट्रिय परीक्षा बोर्डल सञ्चालन गरेको उक्त परीक्षा शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनु भयो । यही जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करिब ४ लाख १५ हजार परीक्षार्थी सहभागी रहेको जानकारी दिँदै बोर्डका अध्यक्ष शर्माले सबै परीक्षा केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाएको जानकारी दिए ।

परीक्षा केन्द्रले प्रश्न पत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था गरिएको छ । विगत २ वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर)मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्न पत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो ।

बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरुपमा सम्पन्न गर्न बोर्डले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गरेको छ । रासस