दुर्घटनाग्रस्त अवस्थामा भेटिएकोे भग्नावसेस फोटो
काठमाडौं – जोमसोमका लागि पोखराबाट आइतबार बिहान उडेको तारा एयरको जहाज थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

आइतबार नेपाली सेनालाई मानापाथी हिमालको फेदीमा पहिरो गइरहेको स्थानमा आगो लागिरहेको देखेको भन्दै स्थानीयले खबर गरेका थिए । खराब मौसमका कारण हिजो खोजी तथा उद्धार कार्यमा खटिएको टोली दुर्घटनास्थल पुग्न सकेको थिएन । नेपाली सेनाको खोजी तथा उद्धार टोली आज बिहान दुर्घटनास्थल पुगेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले यार्सागुम्बा सङ्कलक स्थानीय किसानहरुले दुर्घटनाग्रस्त विमान फेलापारेको र त्यसको तस्वीर प्राप्त भएको जानकारी गराउनु भएको छ । हिजै स्थानीयवासीले जानकारी गराए अनुसार विमान मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त भएको भनिएको थियो । आज सोही स्थानमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको हो ।

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । सोमबार बिहानैबाट पुनः खोजी थालिएको थियो । नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए ।

जहाजलाई सिनियर क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को–पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा थिइन् । उनीहरुको अवस्थाबारे हालसम्म कुनै जानकारी आएको छैन । उक्त विमानको प्राप्त तस्वीरलाई हेर्दा चालक दलका सदस्यसहित यात्रा गर्ने सबै यात्रुको निधन भएको हुन सक्ने बताइएको छ ।