तस्वीर नेपाली सेना ।
पोखरा – हिजो बिहान पोखराबाट चालक दलका सदस्यसहित २२ जना यात्रु बोकेर जोमसोम उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार मुस्ताङको थासाङ–२ मा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको हो । उक्त जहाजका चालक दलका सदस्यसहित सबै यात्रुको निधन भएको बताइएको छ ।

हिजो बिहान १० बजेपछि एयरपोर्टको टावरसँग सम्बन्धविच्छेद भएर हराएको विमान खोजिको लागि नेपाली सेनाको विशेष उद्धार टोलीले आज सोमबार बिहानैबाट खोजी कार्यमा जुटेको थियो । हिजो मौसम खराब भएका कारण जहाजको अवस्था थाहा हुन सकेको थिएन । हिजै टावरसँगको सम्पर्क टटेपछि जहाज दुर्घटनामा परेको अनुमान भैसकेको थियो ।

मौसम प्रतिकूलताका कारण आइतबार दिनभरको प्रयास असफल भएपछि खोजी कार्य स्थगित गरिएको थियो । सम्पर्कविहीन विमान आइतबार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरूले खोजीकार्य गरेका थिए ।

पोखराबाट जोमसोम जाने क्रममा तारा एअरको ९ एनएईटी ट्विनअटर आइतबार बिहान बेपत्ता भएको थियो । विमानमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु थिए । उक्त जहाजमा १३ नेपाली सहित जर्मनी र भारतीय नागरिक रहेका थिए ।