काठमाडौं – आज बिहान पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन तारा एयर जहाजको खोजी कार्यलाई स्थगित गरेको छ । मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको भन्ने स्थानीयबाट प्राप्त खबरपछि खोजिकार्यका लागि त्यसतर्फ गएको नेपाली सेनाको हेलिकप्टर अन्धकार र प्रतिकुल मौसमका कारण आइतबारलाई खोजी कार्य रोकिएको नेपाली सेनाका प्रवक्ता एवम् सहायक रथी नारायण सिलवालले जानकारी गराउनुभयो ।

तारा एयरले सम्पर्कविहीन भएको जहाज खराब मौसमका कारण खोजी गर्न नसकिएको जनाएको छ । पोखराबाट जोमसोम जाँदा आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकोप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरकाे भनाइ छ । 

तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरू स्ट्यान्डबाइ राखिएको जनाएको छ । मौसममा सुधार आएपछि खोजीकार्य पुनः सुरु गरिने तारा एयरले जनाएको छ । 

हराएको जहाजको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्धार टोली पनि स्थलमार्गबाट त्यसतर्फ प्रस्थान छ ।पोखराबाट आइतबार बिहान ९ः५५ बजे उडेको तारा एयरको जहाज १०ः०७ बजेदेखि सम्पर्कविहीन बनेको थियो । जहाजमा तीनजना चालक दलका सदस्यसहित २२ जना यात्रु छन् ।