काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ औँ गणतन्त्र दिवसका अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । आज आइतबार बिहान शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो र विकल्प भएको बताउनुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनका क्रममा देखापरेका अलोकतान्त्रिक, असंवैधानिक र निरङ्कुश प्रवृतिलाई पनि आफूहरूले सङ्र्घषकै बलमा पराजित गरेको शुभकामना सन्देशमा उल्लेख गर्नुभयो । देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प हो,’ उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृतिहरु बीचका सङ्घर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूला–ठूला राजनैतिक परिवर्तन सम्भव भएका हुन् ।’

‘निर्वाचनमा जित–हार भन्दापनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी बनेकोमा हामी हर्षित छौं । गणतन्त्र दिवसको यस अवसरमा निर्वाचनमा विजयी जनप्रतिनिधि एवं सहभागी सम्पूर्ण दिदीबहिनी तथा दाजभाइहरुमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछौं,’ उहाँले भन्नुभयो । उहाँले गणतन्त्र दिवसमा देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरुलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकतावद्ध भई अघि बढ्न पनि अपिल गर्नुभएको छ ।