फाइल तस्वीर
काठमाडौं– निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति पार्टी र नेताहरुले तिव्र असन्तुष्टि व्यक्त गरेका छन् । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थन बनाउनेदेखि तत्सम्बन्धी अन्य निर्णयहरुसमेत खारेज गरिदिएको थियो ।

यसै विषयलाई लिएर पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च फैसला नेपालको विकासमा दूरगामी असर पार्ने टिप्पणी गर्नुभएको छ । नेता भट्टराइले उक्त विमानस्थलको अर्को विकल्प नरहेको धारणा राख्नु भएको छ । नेता भट्टराईले नेपालको न्यायालय र प्रशासन संयन्त्र विकासमैंत्री नभएको आरोप समेत लगाउनु भएको छ ।

आज शुक्रबार सङ्घीय संसद् भवनपरिसरमा सञ्चारकर्मीहरुसँग बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले वीरगन्ज जस्तो मुलुकको सबैभन्दा महत्वपूर्ण व्यापारिक नाकालाई काठमाडौंसँग जोड्ने सबैभन्दा भरपर्दो विमानस्थल निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हुने भएकाले त्यसलाई रोक्नाले नेपालको विकासमा ठूलो दूरगामी असर पार्ने बताउनु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक पर्यटक पनि धान्न नसक्ने अवस्था भएकाले पनि आफू प्रधानमन्त्री भएको बेला सो परियोजनालाई राष्ट्रिय गौरवको परियोजनाको रूपमा अघि बढाएको नेता भट्टराईले बताउनु भयो ।

पूर्वप्रधानमन्त्री भट्टराइले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरागर्दै ‘जेहोस् हामीलाई यो चाहिन्छ । यो विमानस्थलविना काठमाडौंले त यहाँ आन्तरिक पनि धान्न नसक्ने अवस्था आइसक्यो । हामीलाई चाहिन्छ । टाढा पठाएर हुँदैन । विदेशीहरू आउने भनेको राजधानीमै हो । वीरगन्जबाट काठमाडौंसँग सबभन्दा निकटको व्यापार सम्बन्ध हुन्छ । त्यसैले सामान ढुवानी गर्नका लागि पनि हामीलाई फास्टट्रयाकलगायतको आवश्यकता छ । रेलको आवश्यकता छ । एयरपोर्ट हुँदा अन्तर्राष्ट्रिय र राष्ट्रिय यातायात, सञ्चार र ढुवानीको निम्ति मद्दत पुग्छ भन्दै नेपालको विकासको निम्ति अहिले जुन घटना घटेको छ, यो घटनाले हाम्रो विकासलाई ठूलो दूरगामी असर गर्छ’ भन्नुभयो ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका राजनीतिक दलहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदरगर्नुलाई दूरासययुक्त र सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको भन्ने टिप्पणी गरेका छन् ।