फाइल तस्वीर
दमौली – तनहुँको ब्यास नगरपालिकाको मतगणनामा धाँधली भएको भन्दै मेयर पदमा पराजित भएका उम्मेदवार दीपकराज जोशीले पोखरास्थित उच्च अदालतमा पुनः मतगणना गरिपाउँ भन्दै दायर गर्नुभएको रिटमा अदालतले प्रतिवादीहरुसँग कारण माग गरेको छ ।


उच्च अदालत पोखराले आज रिट निवेदकको माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो, त्यसको कारणसहित १५ दिनभित्र जवाफ पेश गर्न निर्वाचन आयोगसहितका विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

व्यास नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका बैकुण्ठ न्यौपानेले निकटम प्रतिस्पर्धी मेयर पदका स्वतन्त्र उम्मेदवार जोशीलाई दुई सय ५२ मतान्तरले पछि पार्दै विजयी हुनुभएको थियो । न्यौपानेले १२ हजार ७८ मत पाउँदा जोशीको पक्षमा ११ हजार ८२६ मत आएको थियो ।

जोशीले आयोग, निर्वाचित मेयर बैकुण्ठ न्यौपानेसहित ५ जनालाई विपक्षी बनाइ यसअघिको मतगणना बदर गरी पुनः मतगणना गरिपाउँ भन्दै उच्च अदालतमा रिट दायर गर्नुभएको थियो । मत गणनाका क्रममा जोशीका एक हजार मत बदर समेत भएका थिए ।