फाइल तस्वीर
काठमाडौं – यौन अपराध बिरुद्धको उजुरीमा हदम्यादको व्यवस्था हटाउने मागसहित राष्ट्रियसभा सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता भएको छ । राष्ट्रियसभा सदस्य एवम् नेपाली काङ्ग्रेसकी नेतृ कमला पन्तको प्रस्तावमा शुक्रबार राष्ट्रियसभा सचिवालयमा उक्त सङ्कल्प प्रस्ताव दर्ता भएको संसद सचिवालयले जनाएको छ ।


उक्त सङ्कल्प प्रस्तावलाई सांसदहरु बिमला राई पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, मदनकुमारी शाह (गरिमा), शेखर कुमार सिंह, गङ्गा कुमारी वेलवासे र तुलप्रसाद विश्वकर्माले समर्थक गर्नुभएको छ ।


उक्त सङ्कल्प प्रस्तावमा यौन अपराध बिरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी ब्यवस्था हटाउनुका साथै दण्ड सजायको व्यवस्थासमेत पुनरावलोकन गर्न जरुरी भएकाले उक्त प्रस्ताव अघि सारिएको भनि उल्लेख गरिएको छ ।


बाल यौन दुर्व्यवहारको कसुरमा सजायको लागि उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्था पूर्ण रुपमा हटाउन र बालबालिका बाहेक अन्यको हकमा समेत बलात्कार जस्तो जघन्य अपराधमा उजुरी दिने हृदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन र पुनर्विचार गरी आवश्यक संशोधन गर्न प्रस्तावमा माग गरिएको हो ।


बालबालिका संरक्षण सम्बन्धि ऐन २०७५ दफा ७४, उपदफा २ र मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा २ मा रहेका कानुनहरु संशोधन तथा परिमार्जन गर्न समेत प्रस्ताव गरिएको छ । यसबारे कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सदनमा छलफल चलाउनेछ ।