फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज शुक्रबार पनि बस्दैछ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् सङ्घीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भैरहेको छ । आज पनि प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुले आ–आफ्नो धारणा प्रस्तुत गर्नुहुने भएको छ ।

नीति तथा कार्यक्रममाथि छलफलका लागि बिहान ११ बजे बस्ने गरी संसद् बैठक तय गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक ११ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।

पहिलो दिन हिजो विभिन्न दलका सांसदहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले १० गते मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

हिजो बसेका प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्नुभएको थियो ।