फाइल तस्वीर
बुटवल – स्थानीय तहको निर्वाचन अन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको निर्वाचनको मत गणनाको अन्तिम नतिजा सार्वजनिक भए छ । उक्त नगरपालिकाको प्रमुखमा नेपाली काङग्रेसका रामकृष्ण खाँण विजयी हुनुभएको छ । नवनिर्वाचित मेयर खाँड नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई ७६५ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो ।

यस नगरपालिकामा खसेको कुल ६४ हजार ७२० मतमध्ये नेपाली काङग्रेसका उम्मेदवार रामकृष्ण खाँणले २४ हजार ३९६ मत प्राप्त गरी मेयरमा निर्वाचित हुँदा एमालेका उम्मेदवार मोहन चापागाईंले जम्मा २३ हजार ६३१ मत ल्याएर पराजित हुनुभएको हो ।

सोही नगरपालिकाको उपप्रमुखमा भने एमालेकी जागेश्वरी चौधरी विजयी हुनुभएको छ । चौधरीले २३ हजार ८६ मत ल्याएर उपमेयरमा विजयी हुँदा उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का हेमन्त पाण्डेले ११ हजार ५४६ मतमात्र प्राप्त गर्नुभएको छ । यस नगरपालिकामा अघिल्लो पटक भएको स्थानीय तहको निर्वाचन–०७४ सालमा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै पदमा जितेको थियो ।

तिलोत्तमा नगरपालिका एमाले नेता घनश्याम भुसालको गृह नगर र पूर्वअर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्र पनि हो । १७ वटा वडा रहेको यस नगरपालिकामा २, ३, ५, ६, ९, १३, १४, १६ र १७ वडामा नेपाली काङ्ग्रेसले जितेको छ भने १, ४, ७, १०, ११, १२ र १५ वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । तिलोत्तमामा काङ्ग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए ।

नवनिर्वाचित मेयर रामकृष्ण खाँणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाएका जनाउनु भएको छ । ‘तिलोत्तमा नगरपालिकालाई देशकै उत्कृष्ट, भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाउने मेरो प्रतिबद्धता छ । यो पूरा गर्छु । मलाई आफ्नो मत दिएर जिताउनु हुने सबैप्रति कृतज्ञ छु,’ नवनिर्वाचित मेयर खाँडले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृहमन्त्री बालकृष्ण खाँणका भाइ नवनिर्वाचित मेयर रामकृष्ण खाँण नेपाली काङ्ग्रेस रुपन्देहीका हालका सभापति समेत हुनुहुन्छ ।