काठमाडौं – नेपालमा हराउँदै गएको कोरोना भाइरसको सङ्क्रमण पुनः सक्रिय हुन थालेको हो कि भन्ने सङ्केत देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको स्वाब परीक्षणबाट २१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३,६२८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार २५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४ जनामा र एक हजार ६०३ जनाको एन्टिजेटन विधिबाट कोरोना भाइरस परीक्षण गर्दा ७ जनामा सङ्क्रमण देखिएको हो । कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये आज १३ जना निको भएका छन् । अझै कोरोना भाइरसबाट १२९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।