फाइल तस्वीर
काठमाडौं – सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन फैसला गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिंदै आएको बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णयलाई सर्वोच्चले बदर गरिदिएको हो ।

बरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मा, पूर्वसचिव रञ्जुहजुर पाँडे क्षेत्री, आनन्द भण्डारी लगायतले २ वर्षअघि दिएको रिटमा फैसला गर्दै सर्वोच्चको बृहत् इजलासले निजगढमा विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय, वन मन्त्रालयको वातावरणीय अध्ययन प्रतिवेदन र निजगढको ८ हजार ४५ हेक्टर जङ्गल नागरिक उड्डयन प्राधिकरणलाई दिने निर्णय बदर गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेललेका अनुसार सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउने निर्णय खारेज गरी उपयुक्त अरू ठाउँ खोजेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरेको छ ।

प्रवक्ता पौडेलले भन्नुभयो – ‘लिखित आदेश आएको छैन तर श्रीमान्हरूले इजलासमा निजगढमा विमानस्थल बनाउन भनी सरकारले गरेका निर्णय उत्प्रेषणको आदेशले बदर गरी नियमकानुन र वातावरणसम्बन्धी विधिशास्त्रीय अध्ययन गरेर उपयुक्त विकल्प खोजेर, उपयुक्त ठाउँमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन परमादेश जारी गरिदिएको छ भनेर बोल्नुभएको छ ।’