फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा सांसद् झलनाथ खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरू भएको तर अझै कतिपय विषयहरु नसमेटिएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा पूर्वप्रधानमन्त्री खनालले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

सम्मानित नेता खनालले देशमा खाद्यान्न सङ्कट आउनसक्ने सम्भावना भएको हुँदा यसतर्फ सरकारले बेलैमा गम्भीर भएर सोच्नु पर्ने बताउनु भएको छ । विश्व खाद्य सङ्गठनले केही दिन पहिले रुस र युक्रेनबीचको युद्धका कारण विश्वमा खाद्य सङ्कट हुन सक्ने चिन्ता प्रकट गरिरहेको बेला नेता खनालले प्रतिनिधिसभा बैठकमा खाद्य सङ्कटको विषयलाई उठाएर सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

कृषकले उत्पादन गरेको उपजलाई बजारमा पु¥याउने र मूल्य दिने नीति हालसम्म बन्न नसकेको भन्दै नेता खनालले राज्यले समर्थन मूल्य नदिएसम्म उत्पादन नबढ्ने दावी गर्नुभयो । सरकारले कृषकहरुलाई उत्पादनको समर्थन मूल्य दिनुपर्नेतर्फ नीति तथा कार्यक्रमले ध्यान दिन नसकेको बताउनु भयो ।

त्यसैगरी खनालले संविधानको मर्म र भावनालाई गम्भीरतापूर्वक लिनुपर्छ भन्दै संसद्को पाँच वर्षको आयु टुङ्गिन लागेकोले अन्तिम कार्यक्रममा पनि संविधानबमोजिम राष्ट्र अघि बढ्ने भन्ने कुरा समेटिनु पर्नेमा जोड दिनु भयो ।