फाइल तस्वीर
काठमाडौं – स्थानीय तहको निर्वाचनबाट देशभर ३५ हजार २२१ जना जनप्रतिनिधिहरु निर्वाचन हुनेछन् । महानगरपालिकादेखि गाउँपालिकासम्मका जनप्रतिनिधिहरु चयन गर्नका लागि वैशाख ३० गते निर्वाचन भएको थियो । उक्त निर्वाचनको हालसम्मको नतिजा अनुसार ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भैसकेका छन् भने १ सय ८७ जनप्रतिनिधिहरुको अन्तिम नतिजा आउन बाँकी छ ।

प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पद गरी कुल ३५ हजार २२१ जनप्रतिनिधिको लागि भएको निर्वाचन यसपटक केही स्वतन्त्र उम्मेदवारहरुले समेत विजय प्राप्त गरेका छन् । स्थानीय तहको निर्वाचनमा देशभर १ लाख ४५ हजार ११ जनाको उम्मेदवारी परेको थियो । निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका पालिकामा सबैभन्दा धेरै नेपाली काङग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । दोस्रोमा नेकपा एमाले, तेस्रोमा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीले पनि केही स्थानमा जितेका छन् ।

निर्वाचन आयोगका अनुसार नेपाली काङ्ग्रेसका १३ हजार ७११, एमालेका ११ हजार ८४७, माओवादी केन्द्रका ५ हजार ४४, जसपाका १ हजार ५३९ र अन्य दल तथा स्वतन्त्रको तर्फबाट २ हजार ७९० जना उम्मेदवारले जितेका छन् । बाकी पालिकाहरुको नजिता सार्वजनिक भएपछि निर्वाचनले पूर्णता पाउने छ ।