फाइल तस्वीर
काठमाडौं – मुलुकका ७५३ वटा स्थानीय तहको हालै सम्पन्न निर्वाचनको मतगणनाको नतिजा आउन अझै बाँकी छ । अहिलेसम्म ७४९ वटा पालिकाको अन्तिम नतिजा आइसकेको छ । काठमाडौं महानगरपालिका सहित ४ पालिकाको नतिजा आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार ७५३ मध्ये ७४९ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौं महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेका छन् ।
काठमाडौ महानगरपालिका र तिलोत्तमा नगरपालिकाको मतगणना अन्तिम चरणमै पुगेको छ । यी दुवै पालिकाको नतिजा आज साँझसम्म आइसक्ने सम्भावन छ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा मतदानमै विवाद भएकोले त्यहाँको मत गणना गर्ने काम ढिलो सुरु भएका कारण अन्तिम नतिजा आउन ढिलाई हुन गएको आयोगले जनाएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश अन्तगर्त पर्ने बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकामा पनि विवाद भएका कारण अन्तिम नतिजा आउन सकेको छ्रैन । त्यहाँको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन ढिलाई हुँदा उक्त नगरपालिकाको अन्तिम नतिजा कहिले आउने भन्ने अन्योल नै कायम छ ।
स्थानीय तहको निर्वाचनबाट विजयी भएका जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ लिएर स्थानीय तहको जिम्मेवारी संहाल्न सुरु गरिसकेका छन् ।