फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार घटनाको विषयमा विद्यमान कानुनमा रहेको हद म्याद तत्काल हटाउने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले आज बुधबार नेपाली काङ्ग्रेसका महिला नेताहरूसँग कुरा गर्दै बलात्कार घटनाको हद म्याद तत्काल हटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । नेपालको कानुनअनुसार करणी भएको एक वर्षसम्मलाई हदम्याद तोकिएको छ ।

सोही क्रममामा प्रधानमन्त्रीले स्थानीय तहको जनप्रतिनिधिमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेको, महङ्गी बढ्नुको साथै सामाजिक अपराधका घटनाहरुमा न्याय निरुपण जटिल बनेकोले आफ्नो ध्यानाकर्षण भैसकेको हुँदा यी विषयमा तत्काल निर्णय लिने कुरामा प्रतिबद्धता जनाउनु भएको छ । नेपाली काङग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को नेतृत्वमा गएको सांसदसहित नेताहरूको टोलीले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको थियो ।


सोही अवसरमा प्रधानमन्त्री देउवाले बलात्कार मुद्दा सम्बन्धी विद्यमान कानुनमा रहेको हदम्याद हटाउने बताउनु भएको छ । सरकारले बलात्कार मुद्दा सम्बन्धी विद्यमान कानुनमा रहेको हदम्याद हटाउन गृहकार्य सुरु गरेको छ ।

टोलिकी सदस्य नेपाली काङ्ग्रेस संसदीय दलको सचेतक समेत रहनुभएकी सांसद पुष्पा भुसालले स्थानीय निर्वाचनबाट महिला प्रतिनिधित्वहरुको उपस्थिति कम भएकोले यसतर्फ पार्टीले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनु भएको थियो ।

सचेतक भुसालले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा महिलाहरुको सम्मानजनक उपस्थिती गराउनका लागि पार्टीले विशेष भूमिका खेल्न आग्रह गर्नुभएको थियो । सो विषयमा प्रधानमन्त्री देउवाले जनप्रतिनिधिका रुपमा महिलाको उपस्थिति कम भएको स्वीकार गर्दै आगामी दिनमा यस विषयमा पुनवरालोकन गर्दै जाने बताउने भएको छ ।

प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुषालले स्थानीय तह निर्वाचनबाट महिला प्रतिनिधित्व पार्टीबाट कम भएको प्रति दुख व्यक्त गर्दै भएको थियो । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका तर्फबाट महिलाको सम्मानजनक उपस्थिति गराउन समेत पार्टी सभापति देउवासँग आग्रहसमेत गर्नुभएको छ ।

आठ वर्षअघि एक ब्यूटी प्याजेन्टको सक्सेस पार्टीको क्रममा आफूमाथि आयोजकले नै बलत्कार गरेको दाबी गर्दै एक युवतीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेसँगै हदम्याद हटाउनुपर्ने आवाज प्रतिनिधिसभा बैठकमा समेत उठिसकेको छ ।