फाइल तस्वीर
काठमाडौं – हालैसम्पन्न स्थानीय तहको निर्वाचनको नतिजाबाट सत्ता गठबन्धनका सदस्य पार्टीहरुको सम्बन्धमा चिसोपन देखिएको छ । मुख्यगरी नेपाली काङ्ग्रेसले गठबन्धनका उम्मेदवारहरुलाई भोट नहालेर आफ्ना उम्मेदवारहरुले पराजय भोग्नु परेको गठबन्धन घटक दलहरुको आन्तरिक विश्लेषण छ ।

गठबन्धन गरिएका पालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारहरुमध्ये नेपाली काङ्ग्रेसका उम्मेदवारहरुले जित्ने र गठबन्धन दलकै साझा उम्मेदवारहरुले हारेको भन्दै नेपाली काङ्ग्रेसले धोका दिएको टिप्पणी गर्न थालेका छन् । सत्ता गठबन्धनको सदस्य दल जनता समाजवादी पार्टी नेपालले गठबन्धनबाटै धोका पाएको निष्कर्ष निकालेको छ ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि चार दिन अघि गठबन्धन दलले निर्वाचनमा आफ्ना उम्मेदवारलाई मत नदिएको टिप्पणी गर्नुभएको थियो । नेकपा माओवादी केन्द्रको पनि आन्तरिक विश्लेषण त्यही रहेको छ ।

मुख्यगरी नेपाली काङ्ग्रेसले चुनावी गठबन्धनको मर्मलाई पूर्णरुपमा आत्मसात् नगरेको सत्ता गठबन्धनका दलहरुको ठम्याइ छ । गठबन्धनबाट साझा उम्मेदवार उठाइएकामा नेपाली काङ्ग्रेसका उम्मेदवारले जित्नु र गठबन्धनका अन्य दलका उम्मेदवारहरुले हार्नुलाई नै मुख्य प्रमाणका रुपमा हेर्न थालिएको छ । निर्वाचनको नतिजाले पनि यही देखिएको छ ।

निर्वाचनमा गठबन्धनलाई बलियो बनाएर लैजाने शीर्ष नेताहरुको भावनालाई स्थानीयमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले अवज्ञा गरेका थिए । कुल ७५३ स्थानीय निकायको करिब २५ प्रतिशतमा मात्रै गठबन्धन भएको थियो । बाँकीमा आपसी तालमेल गरेर जाने तालमेल हुन नसकेका स्थानमा स्वच्छ र मर्यादीत आ–आफ्नै किसिमले निर्वाचनमा जाने शीर्ष नेताहरुबीच भद्र सहमति समेत भएको थियो । गठबन्धन गरिएका स्थानहरुमा नै नेपाली काङ्ग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिएकै कारण थोरै मतले हार्नु परेको दलहरुको बुझाइ छ ।

भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले ३२६ प्रमुख र २९८ उपप्रमुखमा जितेर पहिलो पार्टी बनेको छ । यसैगरी नेकपा एमालेले २०४ प्रमुख र २३७ उपप्रमुख पदमा जित्दै स्थानीय तहमा धेरै स्थान जित्ने दोस्रो दल बनेको छ । स्थानीय तहमा २१२ स्थानमा प्रमुख र २२८ उपप्रमुख जितेर तेस्रो शक्ति बन्न पुगेको छ । चौंथो दलमा जनता समाजवादी पार्टी नेपाल र पाँचौंमा नेकपा एकीकृत समाजवादी रहेका छन् । जसपाले ३० प्रमुख र ३१ उपप्रमुख जित्दा ७ महिना अघि गठन भएको एकीकृत समाजवादीले २० स्थानमा प्रमुख र २३ स्थानमा उपप्रमुखमा जितेको ।

नेकपा माओवादी केन्द्रले निर्वाचनपूर्व १५० भन्दा बढि पालिकामा जित्ने प्रक्षेपण गरेको थियो । माओवादी केन्द्रको पक्षमा केही जनाधार भएता पनि स्थानीय तहसम्म कमजोर सङ्गठनका कारण निर्वाचनमा अपेक्षा गरिए अनुरुपको नतिजा ल्याउन नसकेको उसको बुझाइ छ । यता एमालेबाट विभाजित भै बनेको नेकपा एकीकृत समाजवादी पनि आफ्नो पक्षमा राम्रो नतिजा आउने विश्लेषण गरेको थियो । नेपाली काङ्ग्रेस बाहेक अन्य कुनैपनि दल स्थानीय निर्वाचनको नतिजाबाट त्यति खुसी देखिएका छैनन् ।

स्थानीय तहको निर्वाचनको नतिजालाई लिएर सत्ता पक्षीय र प्रतिपक्षी दलहरुले निर्वाचनको समीक्षा गर्ने भएका छन् । यता नेकपा एमालेले पनि आफुहरुलाई चौतर्फी रुपमा घेरिएको हुँदा निर्वाचनमा राम्रो नतिजा नआएको विश्लेषण गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ७० देखि ७५ प्रतिशतमा जित्ने दावी गर्नुभएको थियो । तर ओलीको पार्टी करिब ३० प्रतिशतको हाराहारीमै खुम्चिन पुगेको छ । अहिले ओली पार्टी भित्रैको अन्तर्घातले आफ्नो दलले हार व्यहोरेको बताउन थाल्नु भएको छ ।