काठमाडौं– वैशाख ३० गते सम्पन्न देशका ७५३ वटा पालिकामा भएको निर्वाचनको नतिजा आउन अझैबाँकी छ । अहिलेसम्म ७४६ स्थानीय तहको अन्तिम नजिता सार्वजनिक भैकेको छ भने काठमाडौं महानगरपालिकालगायत ७ वटा पालिकाहरुको अन्तिम नतिजा आउन बाँकी छ ।


देशका ६ वटा महानगरपालिकाको नतिजालाई हेर्दा नेपाल कम्युनिस्ट पार्टी एमाले नराम्रोसँग पराजित भएको छ । छ वटा महानगरपालिकामध्ये चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) पोखरा महानगरपालिकामा नेकपा (एकीकृत समाजवादी), ललितपुर महानगरपालिकामा नेपाली काङ्ग्रेसका चिरिबाबु महर्जन, विराटनगर महानगरपालिकामा नेपाली काङ्ग्रेसका नागेश कोइराला, वीरगञ्ज महानगरपालिकामा जनता समाजवादीका राजेशमान सिंह मेयरमा निर्वाचित भएका छन् । काठमाडौं महानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुने लगभग पक्का भैसकेको छ ।


यसैगरी ११ वटा उपमहानगरपालिकाको प्रमुखमा भने मिश्रित नतिजा आएको छ । जसमध्ये नेपाली काङ्ग्रेसले इटहरी, बुटवल र नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा जितेको छ भने नेकपा एमालेले कलैया, घोराही र तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा जित निकालेको छ ।

नेकपा माओवादी केन्द्रले जितपुर सिमरा उपमहानगरपालिका तथा नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा जितेका छन् ।यसैगरी धरान, जनकपुर र धनगढी उपमहानगरपालिकाको प्रमुखमा राजनीतिक दलका उम्मेदवारहरुलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवारहरुले विजय प्राप्त गरेका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचन (२०७४) मा नेकपा एमाले दुईवटा महानगरपालिकामा जित हात पारेको थियो । अघिल्लो पटक नेपाली काङ्ग्रेसले २, माओवादी केन्द्रले १ र तत्कालीन सङ्घीय समाजवादी फोरमले १ महानगरपालिकामा जितेका थिए । अघिल्लो पटक जित निकालेका यी तीनै दलले पुरानो विराशत कायम राख्ने एमालेले पराजय भोग्नु परेको छ ।


अघिल्लो पटक स्थानीय तहमा ठूलो पार्टी बनेको एमाले अहिले दोस्रोमा खुम्चिन पुगेको छ । यसपटक उसलाई उछिन्दै नेपाली काङ्ग्रेसले ३२५ पालिकाको प्रमुखमा जितेको छ भने दोस्रोमा रहेको नेकपा एमालेले २०३ स्थानमा जितेको छ । यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १२१ पालिकाको प्रमुखमा विजय प्राप्त गरेका छन् ।


देशका ६ वटा महानगरपालिकामा कस्ले कति मत ल्याएर जिते र कस्ले कतिमत ल्याएर हारे यो तथ्याङ्क हेरौं ।

भरतपुर महानगरपालिकाः
चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाले १२ हजार ४४९ मतान्तरमा जित निकाल्दै एमालेका उम्मेदवार विजय सुवेदीलाई हराएकी छन् । रेणुले ५२ हजार ३० मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत ल्याए । अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले हराए भरतपुर महानगरपालिकाको मेयर बन्न सफल हुनुभएकी नवनिर्वाचित दाहाल दोस्रो कार्यकालका लागि पनि निर्वाचित हुनुभएको छ । रेणु दाहाले २०७४ को निर्वाचनमा ४३ हजार १२७ मत ल्याएर विजयी हुनुभएको थियो ।
ललितपुर महानगरपालिकाः
ललितपुर महानगर प्रमुखमा नेपाल काङ्ग्रेसका उम्मेदवार चिरीबाबु महर्जन फराकिलो मतान्तरले विजयी हुनुभएको छ । महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गर्नुभएको हो । कुल ४२ हजार ७२२ मत ल्याएर ललितपुर महानगरपालिकाको पुनः मेयर बन्न सफल महर्जनका निकटम प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५ सय ६० मत प्राप्त गर्नुभएको छ । नवनिर्वाचित मेयर महर्जनले १८ हजार १६२ मतको फराकिलो अन्तरले व्यञ्जनकारलाई हजाएर दोस्रो पटक ललितपुर महानगरको प्रमुख बन्न सफल हुनुभएको छ । अघिल्लो पटक अर्थात् २०७४ सालको निर्वाचनमा पनि काङ्ग्रेसका महर्जनले एमालेका यिनै हरिकृष्ण व्यञ्जनकारलाई जम्मा ३२६ मतान्तरले पराजित गर्नुभएको थियो ।
पोखरा महानगरपालिकाः
कास्कीको पोखरा महानगरपालिका प्रमुखमा गठबन्धनका साझा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी बन्नुभएको छ । आचार्यले आफ्नै पुर्वपार्टी एमालेका उम्मेदवार कृष्णबहादुर थापालाई ६ हजार ४५ मत अन्तरले हराउँंदै पोखरा महानगरको प्रमुख बन्न सफल हुनुभएको छ । नवनिर्वाचित मेयर आचार्यले ५८ हजार ८९३ मत ल्याउँदा थापाले ५२ हजार ८४८ मतमात्र ल्याउनु भएको छ ।
यो महानगरपालिकामा २०७४ सालको निर्वाचनमा एमालेका मानबहादुर जिसीले ६० हजार १११ मत ल्याएर विजयी हँुदा नेपाली काङग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएर पराजय भोग्नु भएको थियो । नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादीमा लाग्नु भएका आचार्यलाई जिताउन गठबन्धन दलको साथ रहेको थियो ।

वीरगञ्ज महानगरपालिका :
जनता समावादी पार्टीको भागमा परेको वीरगञ्ज महानगरपालिकाको प्रमुखमा सोही पार्टीका राजेशमान सिंहले नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई हराएर मेयर बन्न सफल बन्नुभएको छ । सिंहले निकटम प्रतिस्पर्धी एमालेका उम्मेदवारलाई २२ हजार ५५५ मतको अन्तरले पछिपार्दै नगरप्रमुख बन्नुभएको छ । जसपाका सिंहले ४६ हजार २१५ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय कुमार सरावगी २३ हजार ६७१ मतमा प्राप्त गरी दोस्रो स्थानमा रहनु भयो । नवनिर्वाचित मेयर सिंह गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो ।
अघिल्लो पटक अर्थात् २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट मेयरको उम्मेदवार बन्नुभएका राजेशमान तत्कालीन सङ्घीय समाजवादी फोरमका उम्मेदवार विजयकुमार सरावगीसँगै पराजित हुनुभएको थियो । अहिले जसपाबाट निर्वाचन लड्नु भएका राजेशले नेकपा एमालेबाट उम्मेदवार भएका पूर्वमेयर विजयकुमार सरावगीलाई हराउँदा अघिल्लो पटकको पराजयको बदला लिनु भएको छ ।

विराटनगर महानगरपालिकाः
विराटनगर महानगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका नागेश कोइराला विजयी हुनुभएको छ । उहाँले ३० हजार १७० मत पाएर विजयी हुनुभएको हो । कोइराला आफ्नो निकटम प्रतिस्पर्धी एमालेका सागरकुमार थापालाई ८ हजार ७१५ मतान्तरले पछिपार्दै विजयी भएको हो । नवनिर्वाचित मेयर कोइराला निकटतम प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत ल्याउनु भएको थियो ।
विराटनगर महानगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नेपाली काङ्ग्रेसले नै बाजि मारेको थियो । त्यसबेला काङ्ग्रेसका भीम पराजुली २३ हजार ३१ मत पाएर विजयी हुनुभएको थियो ।

काठमाडौं महानगरपालिका :
निकै चर्चाको शिखरमा रहेको काठमाडौं महानगरपालिकाको निर्वाचनको परिणाम अझै आएको छैन । यद्यपि, महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले निर्वाचन जित्ने निश्चित प्रायः भैसकेको छ । साह आफ्ना निकटम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी सिर्जना सिंहभन्दा आधाभन्दा बढी मतान्तरले अग्रस्थानमा रहनु भएको छ ।
मेयर पदका यी दुई प्रत्यासीबीच २० हजारभन्दा धेरैको मतान्तर रहेको छ । बालेन्द्र साहले झण्डै ५१ हजार मत प्राप्त गरिसक्नुभएको छ भने उहाँको निकटम प्रतिस्पर्धी सिर्जना सिंहले ३१ हजार मत ल्याउनु भएको छ । एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहनु भएको मछ । उहाँ नेपाली काङ्ग्रेसकी उम्मेदवार सिर्जनाभन्दा करिव १ हजार मतले पछि पर्नुभएको छ ।
यसअघि २०७४ सालको निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित हुनुभएका विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ ल्याएर विजयी हुँदा । नेपाली काङ्ग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला शाक्यले जोशीलाई १९ हजार ६४४ मतको मन्तरले जित्नुभएको थियो ।


अघिल्लो पटक एमालेले जितेको काठमाडौं र पोखरा महानगरपालिकामा नयाँ अनुसारले बाजि मारेमा छन् । पोखरा महानगरपालिको प्रमुखमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले बाजि मार्नुभएको छ भने काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह भारी मतान्तरले विजयी हुने निश्चित प्राय छ ।