फाइल तस्वीर ।
काठमाडौं – निर्वाचन आयोगले आजदेखि आचारसंहिता हटाएको छ । गत वैशाख ३० गते सम्पन्न भएको ७५३ स्थानीय तहको निर्वाचनको नतिजा केही बाहेक ७४२ वटाको सार्वजनिक भैसकेको र भोलिसम्ममा बाँकी पालिकाहरुको पनि नतिजा आइसक्ने भएको हुँदा आयोगले चैत २५ गतेदेखि लागु गरेको आचारसंहिता हटाएको हो ।


निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजबाट आचारसंहिता लागु नहुने जानकारी गराउनु भएको छ । आयोगबाट सार्वजनिक गरिएको विज्ञप्तिमा ‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी भएको निर्वाचन आचारसंहिता, २०७८ को दफा १ को उपदफा (२) बमोजिम मिति २०७८/१२/२५ गतेदेखि मुलुकभर लागु उक्त आचारसंहिता मिति २०७९/०२/१० गतेदेखि लागु नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ भनि उल्लेख गरिएको छ ।