फाइल तस्वीर ।
काठमाडौं – सत्ता गठबन्धनको एक घटक एवम् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले देशको समस्या सम्बोधन गरेको बताउनु भएको छ ।

राष्ट्रपति भण्डारीले आज मङ्गलबार सरकारका तर्फबाट प्रतिनिधिसभा बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जनताको पक्षमा भएको अध्यक्ष नेपालले बताउनु भएको हो ।

संसदबाट बाहिरिने क्रममा पत्रकारहरुका प्रश्नको जवाफ दिंदै ‘गठबन्धन दलको धारणा, नीति तथा कार्यक्रममा आएको छ । यसले जनताको भावनालाई सम्बोधन गरेको छ । राज्य र समाजका अधिकतम् समस्यालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको छ । आधारभूत रुपमा यो ठीक छ’ – अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

अध्यक्ष नेपालले सामान्य तथा पाँच वर्षको अवधिलाई हेरेर नीति तथा कार्यक्रम बनाइने भए पनि चुनावी वर्षका रुपमा कार्यक्रम आएको उल्लेख गर्दै आगामी मङ्सिरदेखि फागुनसम्ममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने दावी गर्नुभयो ।