काठमाडौं – संसदीय सुनुवाई समितिले दुई देशका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाई समितिद्वारा श्रीलङ्का र डेनमार्कका लागि राजदूतको नाम अनुमोदन गरिएको हो । आज मङ्गलवार बसेको समितिको बैठकले श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेको थियो । सरकारद्वारा प्रस्तावित राजदूत राय र मिश्रबिरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो । सुनुवाइ समितिमा मिश्रविरुद्ध नक्कली सर्टिफिकेट लिएको एवं बेलायतीको आवासीय अनुमति पत्र भएको उजुरी परेको थियो । उक्त आवासीय अनुमति पत्रको म्याद सकिएको भन्ने जवाफ आएकाले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

रायविरुद्ध धनुषा विज्ञान क्याम्पसमा अनियमितता गरेको अरोप लागेको थियो । उक्त अनियमितताबारे पनि अनुसन्धान भइरहेको समितिले जनाएको छ।अनुसन्धान भइरहेकोले दोषी नै भएको ठहर नहुने भन्दै अनुमोदन गरिएको समितिको जवाफ छ । बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावितद्वय राजदूत मिश्र र रायबिरुद्ध परेको उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत राजदूतको नाम अनुमोदन गरेको बताउनुभयो ।