कैलाली – कैलालीमा सोमबार साँझ बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका सहचालक लम्कीचुहा–२ का २० वर्षीय पारस खत्री रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका –१० आमखैया स्थित महेन्द्रराजमार्गमा बसको ब्रेकफेल भई नालीमा बस पल्टिएर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कर्णाली रिभर्र साईडको ना५ख ८६९१ नम्बरको बस बे्रकफेल भई नालीमा बस पल्टिदा बसमा सवार १० जना मध्ये ५ जना घाइते भएका थिए ।

घाइतेहरुको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको र गम्भिर घाइते दुईजनालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको थियो । गम्भिर घाइतेमध्ये खत्रीको गयराती नै कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ भने अर्का सहचालक १८ वर्षीय सन्दिप घर्तिमगरको कोहलपुरमै उपचार भैरहेको छ । बसचालक बसन्त बिक ईलाका प्रहरी कार्यालय सुखडले नियन्त्रमा लिई आवस्यक कारवाही प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।