फाइल तस्वीर
काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतले उछिन्दै विजयउन्मुख गएका छन् । मत गणनाको सुरुवातदेखि नै साहले अग्रता लिएका थिए । पछिल्लो मतगणनाको तथ्याङ्क अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले सोमबार बेलुकासम्मको मतगणनामा ४७ हजार ४ सय २९ मत ल्याएका छन् । साहका प्रतिस्पर्धी गठबन्धनकी उम्मेदवार नेपाली काङ्ग्रेसकी सिर्जना सिंहले २८ हजार ५ सय ६ मत प्राप्त गरेकी छन् ।


मेयरका अर्का चर्चित एमालेका उम्मेदवार केशव स्थापितलाई विस्थापित गर्दै सिंह दोस्रो स्थानमा पुग्दा स्थापितले २७ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् ।


महानगरको २१ वटा वडाहरुको मत गणना सकिसकेको छ । अहिले वडा नम्बर १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२ र २६ को मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डङ्गोलले जित्ने सम्भावना बलियो बन्दै गएको छ । उपमेयरकी एमाले उम्मेदवार सुनिता डङ्गोलभन्दा गठबन्धनका उम्मेदवारको मतान्तर धेरै नै न्यून रहेको छ । मत गणनामा कुनै प्रतिकुल प्रभाव नभए भोली साँझसम्ममा नतिजा आउन सक्ने देखिएको छ ।