फाइल तस्वीर
काठमाडौं – सरकारले आउँदो शैक्षिक सत्रदेखि आठ कक्षासम्मका विद्यार्थीहरुलाई दिवा खाजा दिने प्रस्ताव अगाडि सारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आठ कक्षासम्मका विद्याथीहरुलाई दिवा खाजा दिने प्रस्ताव अघि सारेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा आउँदा शैक्षिक सत्रदेखि आठ कक्षासम्मका बालबालिकाहरुलाई दिवा खाजा खुवाउने प्रस्ताव गरेको बताउनु भएको छ । सरकारले विगतदेखि कक्षा पाँचसम्मका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्दै आएको छ ।

मन्त्री पौडेलले शिक्षा क्षेत्रमा उपलब्ध गराएको बजेट सिलिङ निकै कम भएकोले कुल राष्ट्रिय बजेटको कम्तिमा १५ प्रतिशत रकम उपलब्ध गराइदिन अनुरोध गरेको बताउनु भएको छ । आगामी वर्षको बजेट कार्यक्रममार्फत शिक्षामा तीन प्रकारको सुधार गरिने मन्त्री पौडेलले बताउनुभएको छ । मन्त्री पौडेलले ‘कानुनी सुधार, शिक्षण सिकाइमा सुधार र पूर्वाधारमा सुधार गर्न चाहेका छौं’– भन्नुभएको छ ।

मनाङ, मुस्ताङ लगायतका दुर्गम क्षेत्रमा विद्यार्थी संख्या निकै कम भएको र त्यस्ता स्थानमा विद्यालय गाभ्ने कानुनी व्यवस्था पनि ल्याउने, यातायात व्यवस्था गरिने र हरेक प्रदेशमा कम्तीमा एउटा आवासीय विद्यालय स्थापनाको योजना बजेटमार्फत ल्याइने मन्त्री पौडेलले बताउनुभयो । सबै जिल्लामा प्राविधिक शिक्षा विस्तार गर्ने योजना रहेको र त्यसका लागि पाँच हजार विद्यालय निर्माण गर्नुको साथै कानुन मन्त्रालयमा रहेको सङ्घीय शिक्षा ऐन संसद अधिवेशनमार्फत् अगाडि बढाउने मन्त्रालयको तयारी छ ।