फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा महिला सांसदहरुले सुन्दरी प्रतियोगिता रोक्न माग गरेको छन् । उक्त बैठकमा महिला हिंसा तथा बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धी विषयमा बोल्दै नेकपा माओवादीकी सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नु पर्ने माग गर्नुभएको हो ।

सांसद थापाले सुन्दरी प्रतियोगिता आयोजना नगर्दा यसबाट राज्यलाई के कति घाटा हुन्छ ? भन्दै समितिमा सरकारलाई प्रश्न गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शान्ति प्रक्रियामार्फत् मुलधारको राजनीतिमा अवतरण गरे लगत्तै माओवादी केन्द्रका महिना नेताहरुले सुन्दरी प्रतियोगिता रोक्न सरकारसँग माग गर्दै सुन्दरी प्रतियोगिताको विरुद्धमा विरोध प्रदर्शन गर्दै आएका थिए । मिस नेपालसहितका प्रतियोगिता रोक्न सरकार र सम्बन्धित सरोकारवार पक्षलाई समेत दबाव समेत दिएका थिए ।

समितिको बैठकमा बोल्दै सांसद थापाले ‘विगतमा पनि आफूहरुले सुन्दरी प्रतियोगिताको विषयमा गम्भीर भएर राज्यले सोच्नुपर्ने भनी आवाज उठाएका थियौं, सुन्दरी प्रतियोगिता राज्यको हितका लागि छैन भने यसलाई रोक्न सक्नुपर्छ’ भन्नुभयो । सांसद थापाले बलात्कारको घटनामा एक वर्षभित्र उजुरी गर्नु पर्ने हद म्याद हटाउनु पर्नेमा जोडदिंदै कानुनको अपुगता देखिएकाले तत्काल प्रचलित ऐन संसोधन गरौं र महिला हिंसा र हिंसाजन्य घटना वा बलात्कार जस्तो गम्भीर मानवता विरोधी कार्यमा हदम्याद नलाग्ने गरी ऐन बनाउन आग्रह समेत गर्नुभयो ।

सोही बैठकमा बोल्दै नेपाली काङ्ग्रेसकी सांसद पुष्पा भुसालले महिला हिंसा सम्बन्धी सबै कानुनको पुनरावलोकन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । सांसद भुसालले कानुनमै हदसम्म राख्ने कुरालाई तुरुन्तै हटाउनुपर्नेमा जोड दिनुभयो । ‘बलात्कार मानवता विरोधी कार्य हो’ सांसद भुसालले भन्नुभयो– ‘यसमा हदम्याद राखियो भने एक वर्षपछि फेरि अपराध गर्न सक्छ । त्यसैले अपराधमा कुनै हदसम्म राखिनुहुन्न ।’