फाइल तस्वीर
काठमाडौं– सत्ता गठबन्धन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे छलफल भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट र नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयहरुका बारेमा छलफल गर्न बैठक बसेको हो ।

गठबन्धन दलका शीष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारको नीति तथा कार्यक्रममा छुटाउन नुहने विषयहरु समेट्न सुझाव दिनु भएको बैठकमा सहभागी नेपाली काङ्ग्रेसका नेता पूर्णबहादुर खड्काले बताउनु भएको छ । नेता खड्काका अनुसार जेठ १० गते मङ्गलबार प्रतिनिधिसभा बैठकमा पेश हुने सरकारको नीति तथा कार्यक्रममाथि सामान्य छलफल गरी नेताहरुले सुझाव दिनुभएको थियो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम महत्वाकांक्षीभन्दा जनताका समस्या सम्बोधन हुने विषय समेटेर ल्याउन सुझाव दिनुभएको थियो । अध्यक्ष नेपालले ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी र सामाजिक सुरक्षा जस्ता विषयलाई सरकारको नीति तथा कार्यक्रममा जोड दिनुपर्ने सुझाव दिएको भन्दै नेता नेपालले कृषिलाई प्राथमिकतामा राख्दै अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्ने किसिमले योजना बनाउनु पर्ने, चुरे विनाश रोक्ने योजना आउन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउनु पर्ने जस्ता योजनाहरु सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न प्रधानमन्त्रीलाई सुझाउनु भएको छ ।

जेठ १० गते मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बैठकमा पेश गर्ने कार्यक्रम रहेको छ । संविधानमा व्यवस्था भए अनुसार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०७९/०८० आय व्यय विवरणसहितको बजेट प्रस्तुत गर्नुपर्ने छ ।