फाइल तस्वीर
धनगढी— कैलालीस्थित धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले जित हात पार्नुभएको छ । आज आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनका उम्मेदवार नृपबहादुर वडलाई पछिपार्दै पाँच वर्षका लागि नगरप्रमुखमा विजयी हुनु भएको हो ।

सत्तागठबन्धनका साझा उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका नृपबहादुरले २०७४ सालको निर्वाचनमा हमाललाई हराएर मेयरमा बाजि मार्नुभएको थियो । धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित हमालले २६ हजार ४४३ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उहाँका निकटम प्रतिद्वन्द्वी नृपबहादुरले १४ हजार १४६ मतमात्र पाउनु भयो । नवनिर्वाचित मेयर हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझाले समर्थन गरेका थिए । तर हमालले निवर्तमान मेयर एवम् सत्तागठबन्धनका साझा उम्मेदवार नृपबहादुरलाई १२ हजार २९७ मतान्तरले पछि पार्दै मेयरपदमा जित्न सफल हुनुभएको हो ।

अघिल्लो निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा बाजिमारेको काङ्ग्रेसले यसपटक भने दुवै पद गुमाउन पुगेको छ । उपमेयरमा गठबन्धनलाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी भएकी छन् । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै राना उपमेयर बनेकी हुन् ।