फाइल तस्वीर
कास्की – पोखरा महानगरपालिकाको मेयर पदका गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आर्चायले आफ्नो अग्रतालाई बढाउँदै लग्नु भएको छ । ताजा मत परिणामको तथ्याङ्क अनुसार पोखरा महानगरपालिकामा अहिलेसम्म ९२ हजार ५६१ मत गणना भैसकेको छ । प्राप्त विवरण अनुसार मेयर पदका उम्मेदवार आचार्यले ३७ हजार १२२ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिद्वन्द्वी एमालेका कृष्ण थापालाई पछि पार्नु भएको छ । एमालेका थापाको भन्दा प्रतिस्पर्धी आचार्य ३ हजार २ सय ७२ मतले अग्रस्थानमा हुनुहुन्छ भने नेकपा (एमाले) का उम्मेदवार थापाको ३३ हजार ८५० मत रहेको छ ।

यसैगरी उपप्रमुखमा भने नेकपा (एमाले)की उम्मेदवार मञ्जु गुरुङले ३८ हजार ५७६ मत प्राप्त गर्दा गठबन्धनकी साझा उम्मेदावर नेपाली काङ्ग्रेसकी कोपिला रानाभाटको ३७ हजार ५४५ मत रहेको छ । मेयर पदको भन्दा उपमेयरको मतान्तर केही कम रहेको छ ।

देशका ६ महानगरपालिका मध्ये विराटनगर महानगरपालिकाको नतिजा सार्वजनिक भैसकेको छ । विराटनगरको मेयरमा नेपाली काङ्ग्रेसले बाजी मारेको छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह आफ्ना प्रतिस्पर्धीभन्दा आधाभन्दा बढी मतले अघि छन् ।

यसैगरी चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहाल, पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आर्चाय र ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जन अग्रस्थानमा रहेका छन् ।