फाइल तस्वीर
ललितपुर – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलको गठबन्धन मूलभूत रुपमा सफल भएको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले भक्तपुरको मध्यपुर थिमीका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नै निवास खुमलटारमा बधाई दिंदै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले गठबन्धनमार्फत् देशको राजनीतिमा स्थायित्व र विकासको नयाँ यात्रा सुरु गर्न खोजेको र यसमा मूलभूत रुपमा सफल भएको दावी समेत गर्नुभयो । अध्यक्ष प्रचण्डले यो गठबन्धनलाई आउने प्रदेश र सङ्घीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जान गठबन्धनमा रहेका दलहरु दृढ रहेको बताउनु भएको छ । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा आंशिक गठबन्धन गरेको थियो ।

मध्यपुर थिमी भक्तपुरको ऐतिहासिक नगर भएको उल्लेख गर्दै जनताको पक्षमा हुने काम कारबाहीको प्रभाव र असर सिङ्गो भक्तपुरमा पर्ने हुँदा स्थानीय तह निर्वाचनमा भएको विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको निर्वाचित जनप्रतिनिधिहरुलाई बताउनु भयो । ‘त्यहाँका जनताको विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाइ सूचनालगायतका तपाईंहरुका काम कारबाहीको प्रभाव सिङ्गै भक्तपुर, उपत्यका र देशैभरि पनि सन्देश दिने स्थानमा तपाईंहरु आउनुभएको छ’ भन्दै अध्यक्ष प्रचण्डले जनताको पक्षमा सबैले मिलेर काम गर्न आग्रह गर्नुभयो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरी प्रमुखमा र माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत प्राप्त गरी उपमेयरमा निर्वाचित हुनुभएको छ ।