काठमाडौं – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित प्रमाणपत्र वितरण गरेको छ । हिजो बिहीबार सम्पन्न सो नगरपालिकाको मतगणनामा प्रमुख पदमा घनश्याम गिरीले १५ हजार ४७५ मत प्राप्त गरी विजयी हुनुभएको थियो । सो नगरपालिकाको सभाहलमा आज आयोजित कार्यक्रममा नवनिर्वाचित प्रमुख गिरीलाई निर्वाचन अधिकृत सिर्जना थपलियाले प्रमाणपत्र वितरण गर्नुभएको हो । सो अवसरमा निर्वाचन अधिकृत थपलियाले नगरपालिकाका वडाध्यक्षसहित अन्य सदस्यलाई पनि निर्वाचित प्रमाणपत्र वितरण गर्नुभएको छ ।

सो अवसरमा नवनिर्वाचित प्रमुख गिरीले आफ्नो पहिलो कार्यकालमा अधुरा रहेका विकासका योजना पूरा गर्दै ‘उत्पादन रोजगार र बजारीकरणः प्रविधियुक्त सुशासन’ भन्ने नाराका साथ नयाँ काम थालनी गर्ने जानकारी दिनुभयो । उहाँले, म राजनीतिक सहमति, सहकार्य र एकताका साथ नगरको विकासमा काम गर्नेछु । मलाई अमूल्य मत दिइ दोस्रो कार्यकालका लागि पुनःप्रमुख पदमा निर्वाचित गर्नुहुने नगरवासीलाई धन्यवाद दिन्छु । नगरवासीको सुझाव, सल्लाह र भावनाअनुसार अगामी विकासका काम गर्ने बताउनुभयो ।

सो अवसरमा निर्वाचन अधिकृत थपलियाले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, सुरक्षाकर्मीलगायत नगरवासीलाई धन्यवाद दिनुभयो । कार्यक्रममा चन्द्रागिरिका कार्यकारी अधिकृत नीरज पौडेलले नवनिर्वाचित जनप्रतिनिधिलाई कर्मचारीका तर्फबाट साथ र सहयोग गर्ने विश्वास दिलाउनुभएको छ । प्राज्ञिक एवं विकासप्रेमी नेताका रुपमा सुपरिचित गिरी नेपाली काङ्ग्रेसका तर्फबाट पुनःप्रमुख पदमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो भने वडा न १, ३, ४, ७, ८, ९, ११, १३ र १५ मा पनि काङ्ग्रेसले नै विजय हासिल गरेको छ । काङ्ग्रेसका तर्फबाट नवनिर्वाचित वडाध्यक्ष वडा नं १ मा हरिश्याम रानामगर, ३ मा दुर्गालाल महर्जन, ४ मा कृष्णप्रसाद खड्गी, ७ मा शम्भु केसी, ८ मा प्रल्हाद रिजाल, ९ मा अच्युत अधिकारी, ११ मा नरेन्द्रराज श्रेष्ठ १३ मा श्रीकृष्ण खत्री र १५ मा घनश्याम लुइँटेल रहनुभएको छ ।

यसैगरी नेकपा (एमाले) का तर्फबाट उपप्रमुखमा वसन्ती श्रेष्ठ निर्वाचित हुनुभएको छ । सो पार्टीका तर्फबाट वडाध्यक्षमा वडा नं ६ मा सञ्जय सिग्देल, वडा नं १० मा शिवकुमार महर्जन, वडा नं १२ न्हुच्छेबहादुर महर्जन र वडा १४ मा राजभाइ महर्जन निर्वाचित हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)बाट वडा नं २ मा भाइकृष्ण तामाङ, वडा नं ५ मा राजेन्द्र महर्जन निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि नगरपालिकामा ४७ हजार २ सय ६४ मतदाता कायम भएकोमा यस पटकको निर्वाचनमा ३६ हजार ७ सय १२ ले मतदान गरेका थिए । यसपटकको निर्वाचनमा २२ मतदानस्थल ५६ मतदान केन्द्र तोकिएको थियो । रासस