फाइल तस्वीर
काठमाडौं — सरकारले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा डिआईजी बसन्तकुमार लामा र सशस्त्र प्रहरी बलको प्रहरी अतिरिक्त महानिरीक्षकमा (एआईजी) डिआईजी नारायणदत्त पौडेललाई बढुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार उहाँ दुवै जनालाई बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा समितिले वैशाख २३ मा डिआईजी बसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको थियो । नेपाल प्रहरीमा रिक्त ५ प्रहरी अतिरिक्त महानिरीक्षकमा एआईजीको दरबन्दी रिक्त हुँदा सरकारले लामालाई मात्रै बढुवा गरेको छ । बढुवा गरिएका एआईजी लामा जेठ ८ बाट ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

यसैगरी सशस्त्र प्रहरी बलको एआईजीमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले वैशाख २१ मा डिआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरेको छ । सशस्त्रमा एआईजीको दुईवटा पद खाली भएपनि समितिले पौडेललाई मात्रै सिफारिस गरेको थियो ।

एआईजी बढुवाको प्रतिस्पर्धामा पौडेलसँगै सिपी गौतम, वंशीराज दाहाल र किशोर प्रधान थिए । एआईजीमा बढुवा भएसँगै पौडेल वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कार्यकालपछि करिब २ वर्ष आईजीपी हुन्छन् ।