काठमाडौं – काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ र ३० मा नेपाली काङ्ग्रेस विजयी भएको छ । महानगरपालिकाको वडा नम्बर २८ मा काङ्ग्रेसका उमेदवार भाइराम खड्की (प्रकाश) एक हजार २ सय ८२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उमेदवार दीपेन्द्र खड्कीले एक हजार ७३ मात्र मत प्राप्त गरेका छन् ।

यसैगरी महानगरपालिकाको वडा नम्बर ३० मा दलबहादुर कार्र्कीको प्यानल नै विजय भएको छ । कार्र्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णभक्त खड्गीलाई एक हजार १ सय ४५ मतान्तरले हराएका हुन् । कार्कीले दुई हजार ६१ मत ल्याउँदा खड्गीले ९ सय १६ मत प्राप्त गरेका छन् ।

सदस्यमासमेत काङ्ग्रेसका मनोजकुमार डङ्गोल र मिलनकुमार खड्का क्षेत्री विजयी भएका छन् । महिला सदस्य र दलित महिला सदस्यतर्फ पनि काङ्ग्रेसकै क्रमश: इन्दिरा श्रेष्ठ सिंह र शर्मिला सुडी विजयी भएका काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो । वडा नम्बर १, २, ३, ४, ५, २८ र ३० को मत परिणाम सार्वजनिक भइसकेको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा एक लाख ९० हजारभन्दा बढी मत खसेको थियो ।