फाइल तस्वीर


काठमाडौं – एक साता अघिसम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा आउनेक्रम जारी छ । देशको कुल ७५३ वटा स्थानीय तहमध्ये निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म ५ सय ६० स्थानीय तहको नतिजा आइसकेको हो ।

जसमध्ये नेपाली काङ्ग्रेस सबैभन्दा धेरै स्थानीय तहमा जित निकालेको छ । काङ्ग्रेसले यो समाचार तयार पार्दासम्म २४७ वटा पालिकामा प्रमुख र २३२ वटा पालिकामा उपप्रमुख पद जितेको छ । दोस्रो स्थानमा रहेको एमालेले १६३ वटा पालिकाको प्रमुख र १७३ पालिकाको उपप्रमुखमा जितेको छ ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले प्रमुखमा १०५ स्थान, उपप्रमुखमा ११२ स्थानमा जितेको छ भने नेकपा एकीकृत समाजवादीले १३ पालिकाको प्रमुख र १७ पालिकाको उपप्रमुखमा जित निकालेको छ ।

जनता समाजवादी पार्टीले १५ स्थानमा प्रमुख र १४ स्थानमा उपप्रमुख जित्दा लोकतान्त्रिक समाजवादी पार्टीले २ प्रमुख र २ उपप्रमुखमा जितेको छ । अन्य साना दल र स्वतन्त्र गरी विभिन्न १६ स्थानमा प्रमुख र उपप्रमुख पदमा जित निकालेका छन् ।

बाँकी स्थानीय तहको मतगणना गर्ने कार्य भैरहेको छ । मत गणना भएको स्थानहरुमा नेपाली काङ्ग्रेस नै अग्रस्थानमा छ । उसले ७४ स्थानमा प्रमुख र ६३ स्थानमा उपप्रमुखमा अग्रता लिएको छ । यसैगरी नेकपा एमालेले ३६ प्रमुखमा र ५९ उपप्रमुखमा अगाडि रहँदा नेकपा माओवादी केन्द्रले प्रमुखमा १४ स्थानमा र उपप्रमुखमा १८ स्थानमा अग्रला लिएको छ । अग्रता लिनेमा नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पनि रहेका छन् भने केही स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

महानगरपालिका, उपमहानगरपालिका र केही स्थानीय तहबाहेर अधिकांशको नतिजा भोलिसम्ममा आउने आङ्कलन गरिएको छ । देशका ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको मतगणनाको काम ढिलाई हुँदा निर्वाचन आयोगको कार्य क्षमतामाथि नै प्रश्न चिन्ह उठ्न थालेको छ ।