काठमाडौं – सरकारले नागरिकता सम्बन्धि विधेयकलाई अघि बढाउने तयारी गरेको छ । वि.सं २०७५ साउन २२ गतेदेखि नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक यस अघि नै संसद्मा रहेको छ । संसद्मा विचाराधिन रहेको उक्त विधेयकलाई अघि बढाउन आज गृहमन्त्री बालकृष्ण खाँण र कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिएको बताउनुभएको छ ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा उक्त विधेयकसम्बन्धी बहसमा उठान गरिएका केही प्रावधानलाई लिएर छलफल भएको बताइएको छ । मुख्यतयाः नागरिकता विधेयकमा नेपाली नागरिकसँग विवाह गरेर नेपाल आउने नागरिकलाई वैवाहिक अङ्गिकृत नागरिकता तुरुन्तै दिने वा निश्चित अवधिपछि दिने भन्ने विषयमा विवाद कायमै छ ।

संसद् सचिवालयमा हाल ५७ वटा विधेयक संसद्मा अलपत्र अवस्थामा रहेका छन् । कानूनमन्त्री बन्दीले संसद्मा रहेका विधेयकसम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको र सरकारले संसद्मा रहेका विधेयकहरुका प्रावधानलाई एकैपटक संशोधन गरेर अघि बढाउने तयारी गरेको बताइएको छ ।

अन्य विधेयक पेश गर्ने, संसद्मा भएका विधेयकहरुलाई अघि बढाउनेसहितका विषयमा प्रचण्डसँग दुवै मन्त्रीको छलफल भएको बताइएको छ । वि.सं २०७५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका विधेयकको कतिपय विषयमा संशोधन आवश्यक देखिएकाले सत्ता साझदार दलहरुबीच सहमति आवश्यक भएको हुँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल अगाडि बढाइएको हो ।