फुङ्लिङ – ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय फुङ्लिङका अनुसार फुङ्लिङ नगरपालिका–६ को बतासेमा ना ६ त ४७४३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चारजना घाइते भएका हुन् । ताप्लेजुङको सुकेटारदेखि सदरमुकाम फुङ्लिङ बजारतर्फ जाँदै गरेको उक्त ट्याक्टर हिजो साँझ सडकदेखि २० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याक्टरमा सवार फुङ्लिङ नगरपालिका–११ फावाखोलाका १८ वर्षीय प्रकाश बुढाथोकी, सोही वडाका २२ वर्षीय बिक्रम लिम्बू घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाका ६१ वर्षीय पूर्णहाङ लिम्बू र सिकैँचाकै २१ वर्षीय सिपन लिम्बू घाइते हुनुभएको छ ।

दुर्घटनाका घाइते चारैजनाको अवस्था गम्भीर भएकाले उहाँहरुलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्नका लागि जिल्ला बाहिर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्रयाक्टरका चालक फुङ्लिङ नगरपालिका–११ फावाखोलाका २३ वर्षीय रत्नबहादुर लिम्बूलाई नियन्त्रणमा लिई दुर्घटनाका बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।