बर्दघाट – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा बहुमत वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुखमा नेपाली काङ्ग्रेस विजयी भएको छ । गैँडाकोटको नगरप्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार मदनभक्त अधिकारी निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेललाई दुई हजार ८ सय ४९ मतले पछि पार्दै गैँडाकोटको नगरप्रमुखमा अधिकारी विजयी हुनुभएको हो ।

नगरप्रमुखमा निर्वाचित अधिकारीले १६ हजार ४ सय ५५ मत प्राप्त गर्दा निवर्तनमा नगरप्रमुख समेत रहनुभएका एमाले उम्मेदवार पौडेलले १३ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी गैँडाकोट नगर उपप्रमुखमा समेत काङ्ग्रेसकी उम्मेदवार शान्ति कोइराला निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर उपप्रमुखका उम्मेदवार तुलाराम पौडेललाई करिब दोब्बर मतान्तरले पराजित गर्दै कोइराला नगर उपप्रमुखमा निर्वाचित हुनुभएको हो । नगर उपप्रमुखमा निर्वाचित कोइरालाले १६ हजार १ सय १४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी पौडेलले आठ हजार ६ सय ४० मत प्राप्त गर्नुभएको छ ।