काठमाडौं – प्रतिनिधिसभाको ११ औं अधिवेशन आजदेखि सुरु भएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट पेश गर्ने गरी अधिवेशन सुरु भएको हो ।
वर्षे अधिवेशनको पहिलो दिन आज सरकारले विभिन्न आठ अध्यादेश संसद बैठकमा पेश गरेको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश–२०७८’ ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश – २०७८’ र ‘तेजाब तथा अन्य घातक रासायनीक पदार्थ (नियमन) अध्यादेश– २०७८’ पेश गर्नुभएको छ ।

यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले ‘औषधी (तेस्रो संशोधन) अध्यादेश– २०७९’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश –२०७९’ पेश गर्नुभएको छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले ‘रेल्वे अध्यादेश –२०७८’ पेश गर्नुभएको छ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश –२०७८’ र ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ पेश गर्नुभएको छ ।

नेपाली काङ्ग्रेसका सांसद् पुष्पा भुसालले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १४२ को उपनियम (४) लाई निलम्बन गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको छ । सांसद भुसालद्वारा पेश गरिएको उक्त प्रस्तावलाई सांसद देवप्रसाद गुरुङ र जीवनराम श्रेष्ठले समर्थन गर्नुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले सांसद् भुसालले प्रस्तुत गर्नुभएको उक्त नियम निलम्बन प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको थियो ।

यसैगरी, अर्थमन्त्री श्री जनार्दन शर्माले ‘आ.व. २०७९÷०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गर्नु भएको छ । सभामुख सापकोटाले आर्थिक वर्ष २०७८÷८० लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिता सम्बन्धनमा कर प्रस्तावबाहेक माथिका छलफल जेठ ४ र ५ गते हुने जानकारी दिनुभयो । बैठकलाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले एमालेले संसद अवरुद्ध नगर्ने जानकारीसमेत गराउनुभएको छ । प्रतिनिधिसभाको अर्को बैठक भोलि ४ गते बुधबार पुनः बस्ने छ ।