काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसकेकोे बताउनुभएको छ । आज पार्टी कार्यालयमा आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै गठबन्धनका घटकबाट पनि राम्रो सहकार्य नपाएको टिप्पणी गर्नुभएको छ ।

‘अहिलेसम्मको निर्वाचन परिणाम अवश्य पनि हाम्रो पार्टीले प्राप्त गर्ने जति छैन । कतिपय ठाउँमा राम्रै अवस्था पनि छ,’ उहाँको भनाइ छ, ‘अझै पनि हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं । हामीसँग गठबन्धन दलका घटकहरुले राम्ररी सहकार्य गर्न चाहेनन् ।’ नेपालले निर्वाचन र गठबन्धनबीच सहकार्यको गम्भीर समीक्षा आफूहरुले गर्ने समेत बताउनुभएको छ । ‘हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्ने छौं,’ उहाँको भनाइ छ, ‘हामीले गठबन्धन कार्यको पनि समीक्षा गर्नेछौं । समीक्षा गरेर हामीले कहाँ राम्रो गर्यौं, कहाँ त्रुटि गर्यौं त्यसको समीक्षा गर्ने छौं ।’

उहाँले भन्नुभयो, यो पार्टीलाई बलियो जगमा उभ्याउनुपर्ने छ । यो पार्टीलाई जनताको बीचमा क्रियाशील बनाउनुपर्ने छ । जनताको प्यारो पार्टीका रुपमा अगाडि बढाउनुपर्ने छ । परिणाम जेसुकै आए पनि पार्टीलाई जनताको बीचमा बलियो बनाउनुपर्ने उहाँको भनाइ छ ।