काठमाडौं – आज विश्व उच्च रक्तचाप दिवस ,विश्वभर  विभिन्‍न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । उच्च रक्तचापबारे सचेतना अभिवृद्धि र यसको  रोकथाम र नियन्त्रणका लागि जागरुक गर्ने उद्देश्यले हरेक वर्ष मे १७ तारिखमा उच्च रक्तचाप दिवस मनाउने गरिन्छ ।

रक्तनलीमा उत्पन्‍न हुने उच्च चापलाई उच्च रक्तचाप भन्‍ने गरिन्छ । माथि १ सय ४० र तल  ९० वा त्यस भन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप भनिन्छ । उच्च रक्तचाप मुटु तथा रक्तनलीसम्बन्धी दीर्घकालीन रोग हो । उच्च रक्तचापले लामो समयसम्म मुटुमा र रक्तनलीमा धक्का दिइरहने भएकाले मुटुलाई नकरात्मक असर पुर्‍याई विभिन्न खालका स्वास्थ्य समस्या देखिन सक्छ । कहिलेकाहीँ मुटुमा स्ट्रोक गराई मृत्यु पनि हुनसक्छ । 

उच्च रक्तचापलाई ढिलो गरी मार्ने रोग ‘साइलेन्ट किल्लर’ पनि भनिन्छ । यो रोग लागेमा धेरैजसो व्यक्तिमा कुनै लक्षण देखापर्दैनन् तर शरीरमा निकै असर पुर्‍याइरहेको हुन्छ । कुनै पनि खतराका संकेत नदेखिई एक्कासी अकल्पनीय क्षति हुन सक्छ र मानिसको मृत्यु हुनसक्छ । 

यो रोग आधुनिक सभ्यताका कारण मानसिक तनाव र जीवनशैलीमा आएको परीवर्तनको नतिजा हो । नेपालमा शहरी क्षेत्रमा बस्‍ने २० देखि २५ प्रतिशत वयष्कमा उच्च रक्तचापको समस्या भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ३ जना वयष्कमध्ये १ जनामा उच्च रक्तचापको समस्या भएको र  यसबाट हरेक वर्ष ९० लाख मानिसको ज्यान जाने गरेको छ ।

पछिल्लो समय नेपालमा धेरै वयस्कहरूमा उच्च रक्तचापको समस्या देखिने गरेको स्वास्थ्यविज्ञहरू बताउँछन् । सहरी क्षेत्रमा यसको जोखिम अझ बढी रहेको विज्ञहरूको भनाइ छ ।

सरकारले नियमित रक्तचाप परीक्षण गर्न आग्रह गरेको छ । रक्तचाप बढी र न्यून हुनु दुबै स्वास्थ्यका लागि हानिकारक भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तचापको नियमित परीक्षण गर्न आग्रह गरेको हो । “रक्तचापको एउटा निर्धारित चाप छ, जुन बढी वा कम हुनु दुवै हानिकारक हुन्छ । त्यसैले विश्व उच्च रक्तचाप दिवसको अवसरमा आफ्नो शरीरको रक्तचापको नियमित जाँच गराउने र स्वस्थ जीवनशैली अपनाएर रक्तचाप नियन्त्रणमा राख्ने प्रण गरौं,” मन्त्रालयले भनेको छ ।

टाउको दुख्ने, रिङ्गटा लाग्ने, थकान महसुस हुने, एक्कासी नाकबाट रगत बग्ने, वाकवाकी लाग्ने, मुटुको धड्कन बढ्ने वा रोकिएजस्तो हुनु उच्च रक्तचापका लक्षण हुन् । उच्च रक्तचापबाट बच्न धुमपान र मदिरा सेवन नगर्ने, हरियो सागसब्जी र फलफूल धेरै खाने, खानामा नुनको प्रयोग कम गर्ने, रातो र धेरै बोसोयुक्त मासु कम खाने र नियमित व्यायाम तथा योग गर्ने गर्नाले यसबाट बच्न सकिन्छ । नियमित रक्तचाप परीक्षण गर्ने, स्वास्थ्य सरसफाईमा ध्यान दिने, हरिया सागपात र गेडागुडीको झोल प्रशस्त मात्रामा सेवन गर्नाले उच्च रक्तचापबाट बच्न सकिन्छ ।