काठमाडौं – स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा हुने मानवीय त्रुटीलाई विवादको विषय नबनाउन निर्वाचन आयोगले आग्रह गरेको छ । अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना कार्यमा ढिलाई गर्ने गरिएकोप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

मतगणनाका क्रममा देखिएको गतिविधिबाट पूर्वयोजना अनुसार जेठ ५ गते अगावै मतगणना कार्य सम्पन्न गर्ने उद्देश्यमा असर पुगेकोे आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गरेर मतगणनालाई तीव्र बनाउन आग्रह गर्नुभएको हो ।

उपलब्ध भएसम्म नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीलाई मतगणना कार्यमा प्राथमिकतासाथ खटाउने तथा स्थानको उपलब्धता अनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्ने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ ।